काठमाडौं जि.वि.स.मा तपाईलाई स्वागत छ।
 
  धार्मिक तथा पर्यटकिय स्थलहरु  
     

काठमाण्डौं जिल्लामा रहेको ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थलहरु

१. श्री पशुपतिनाथ, का.म.पा. ८

हिन्दु धर्माबलम्बीहरुको महत्पूर्ण धार्मिक स्थलमा मार्ग कृष्ण चतुदर्शीका दिन एक वर्ष भित्र अवशान भएका आफन्तहरुको सुखद स्वर्गवासको कामना गर्दै सात प्रकारको सतविज छारिने परम्परा छ । साथै शिवरात्रीको दिन आरध्यदेव पशुपति अर्थात शिवजीको आरधना गर्दै नेपाल तथा छिमेकीमुलुक भारतका हिन्दु धर्मावलम्बीहरुको ठूलो संख्याले पशुपतिको दर्शन गर्ने गर्दछन् ।

२. स्वयम्भू,  का. म. पा १५

काठमाण्डौको पश्चिम तर्फ मण्डपगिरी भन्ने थुम्कोमा अवस्थित अति प्रसिद्ध वौद्ध मन्दिर र चैत्य । वसन्तपंचमीका दिन मंजुश्रीको पूजा अर्चना गर्न ठूलो भिड लाग्दछ ।

३. बौद्धनाथ, का. म. पा. ६

एसियाका तारा तथा विश्वमा अहिंसा तथा शान्तिको सन्देश संवाहक भगवान वुद्धको विशाल स्तुप रहेको (प्रतिमा) स्थल । नेपाल बाहेक चीन, थाइल्याण्ड, श्रीलंका, जापान लगायत विश्वका अन्य सयों वौद्ध धर्मावलम्वी र हिन्दुहरुको समेत आस्थाका धार्मिक स्थल । यसलाई विश्व सम्पदा सूचीमा समेत समावेश गरिएको छ ।

४. गुर्हेश्वरी, का. म. पा.

श्लेस्मान्तक वनसँगै बागमती नदीको दक्षिणतटमा निर्मित यो मन्दिर शिवजीकी सहधर्मिणी सतीदेवीको मानिन्छ । यो स्थलमा सतीदेवीको गह्यपतन भएकोले भारतको कामरुप कामाख्या शक्तिपिठपछि दोश्रो शक्तिपिठको रुपमा मानिन्छ ।

५. बुढानीलकण्ठ, विष्णु बुढानिलकण्ठ गा. वि. स.

काठमाण्डौ शहर देखि ८ कि.मी. पश्चिम उत्तरमा शिवपुरी पहाडको काखमा एउटा सानो पोखरीको बिच शेषशायी भगवान नारायणको प्रस्तर मूर्ति छ । यस मुर्तिको निर्माण पाँचौ शताब्दीको मध्यतिर भएको अनुमान गरिएकोले यसले लिच्छविकालिन मूर्तिकलाको प्रतिनिधित्व गर्दछ ।

६. नागार्जुन, बालाजु

बैशाख १ गते, धार्मिक स्थल एवं पर्यटकीय स्थल, नागार्जुन दरवार रहेको स्थान ।

७. दक्षिणकाली, दक्षीणकाली गा. वि. स.

काठमाण्डौको फर्पिङ्ग क्षेत्रमा पर्ने दक्षिणकालीको स्थलमा मंगोलमुखाकृत भएको कालिकाको मूर्ति स्थापित छ । बैशाख १ गते र नवरात्रीमा बिशेष पूजा अर्चना र मेला लाग्दछ ।

८. टौदह, की. न. पा.

काठमाण्डौ उपत्यका जलमग्न भएको अवस्थामा मन्जुश्रीले चोभारको डाँडा काटेर पानी बाहिर  पठाएपछि यहाँको नागहरु पनी बाहिर जानु पर्ने अवस्था भएकोले भूतखेल भन्ने ठाउँमा पोखरी बनाई सोही ठाउँमा कर्कटक नागलाई बस्ने ठाउँ दिएको हुँदा टौदहलाई कर्कटक नागको बासस्थान समेत भनिन्छ । टौदह क्षेत्रमा विभिन्न किसिमका सर्प, पानीहाँस पानी ढुकुर पाएने हुँदा सर्प र पक्षीहरुको अध्ययन र अनुसन्धानको लागि उपयोगीसिद्ध छ । यस दहले ८४ रोपनी जलक्षेत्रसहित ९६ रोपनी जग्गा ओगटेको छ । यसको नजिकै रहेको आदिनाथ मन्दिरबाट अनेकौ हिमालहरुको दृश्यावलोकन गर्न सकिने हुँदा यसको पर्यटकीय महत्व पनि त्यतिकै छ । नागपञ्चमीको दिन मेला लाग्ने गर्दछ ।

९. गोकर्णेश्वर, गोकर्णेश्वर गा. वि. स.

शाहीवन, गोकर्णेश्वर महादेवको मन्दिरहेको स्थान, भाद्र कृष्ण औसी( बाबुको मुख हेर्ने)  दिन बाबु नहुनेहरु गोकर्णमा गई स्नान, तर्पण सिधादान र पिण्ड दिई पितृको सम्झना गर्दछन् अथवा कुशे औशीको दिन यो तिथि पर्दछ ।

१०. हनुमान ढोका दरबार, का.म.पा.

इस्वीको बाह्रौ शताब्दीमा राजा गुणकामदेवको पालामा परम्परागत ढाचामा काष्ठद्धारा आकर्षक एवं बुट्टादार झ्याल राखेर बनाईएका प्रसिद्ध निर्मीत परातात्विक एवं एतिहासिक दरवार, वसन्तपञ्चमीमा राजकीय समारोहका बिच वसन्त श्रवण हुन्छ ।

११. चन्द्रागिरी डाँडा । की. न. पा. , थानकोट, मातातिर्थ, महादेवस्थान

अग्लो डाँडा हिउँदमा हिउँ पर्ने रमणिय स्थान

१२. दहचोक, दहचोक गा. वि. स.

ईन्द्रदहको नामले समेत चिनिने यो स्थल इन्द्रजात्राको भोलीपल्ट इन्द्रदहमा भक्तजनहरु स्नान गर्न जाने गर्दछन् ।

१३. बज्रयोगिनी मन्दिर, साँखु

काठमाण्डौ जिल्लाको उत्तरी भेगमा पर्ने मणिचुड पर्वतको दुई पहराको विचमा देवी स्थापना गरी निर्माण गरिदिएको मन्दिर भगवान वुद्धको तपस्याबाट प्रसन्न भई प्रस्तरह रुपमा प्रकट भएकी पार्वती नै बज्रयोगिनी हुन भन्ने आख्यान पाइन्छ । यहाँ बौद्ध र  हिन्दु परम्परानुसार देवीको पूजा गरिन्छ ।

१४. मातातिर्थ कुण्ड, महादेवस्थान गा. वि. स.

वैशाख कृष्ण औसीलाई आमाको मुखहेर्ने औसी वा मातृ औसीको रुपमा मनाइन्छ । काटमाण्डौ शहरदेखी २ कि. मि. पश्चिममा रहेको यस कुण्डमा स्नान गरी स्वर्गीय आमाको तर्पण गरिन्छ । यो दिन आमा हुनेहरुले मिठाई, फलफुल खुवाई आमाको मुख हेर्दछन् ।

१५. रानीपोखरी, का. म. पा. ३०

दाजु भाई र दिदी बहिनी नहुनेहरु बिच तिहारको भाइटिकाको दिनमा टिका थाप्न आउने र उक्त दिन मात्र रानीपोखरीको मूलद्वार खोलीने परम्परा छ ।

१६. मनमैजु मन्दिर, मनमैजु गा. वि. स.

काठमाण्डौ शहरबाट ८ कि. मी.  पश्चिमोत्तर दिशामा विष्णुमतिर साङ्लाखोलाको किनारमा निर्मित २ तले प्यागोडा शैलीको यो देवीको मन्दिरमा चैत्र शुक्ल पूर्णिमाको दिनदेखि ५ दिनसम्म चल्ने वाईसधाराको विशाल मेला मनमैजुको मेला लाग्ने गर्दछ । स्थानीय नेवार जातिको पुजारी रहने यो मन्दिरमा पुजा गरे मनले चिताएको कुरा पुरा हुने जनविश्वास छ ।

१७. धरहरा, का.म.पा.

संस्कृत "धवलग्रह" (सेतो घर) शब्द अपभ्रंश भै नेपालीमा धरहरा भएको भन्ने भनाई छ । महारानी ललित त्रिपुरा सुन्दरीको आदेशानुसार  भिमसेन थापाको पालामा वि. सं. १८८२ मा निर्मित ९ तले यो स्तम्भको उचाई २०३ फिट र २१३ वटा भर्‍याङ्‍गका खुट्किलाहरु छन् । यसका टुप्पोबाट काठमाण्डौ उपत्यकाको समग्र दृश्यालोकन गर्न सकिन्छ भने हाल निश्चीत दस्तुर तिरेर धरहरा चढ्न सर्वसाधरणको लागि खुला गरिएको छ ।

१८. किर्तिपुर

काठमाण्डौ शहरदेखि ८ कि. मी. दक्षीण पश्चिममा सानो पहाडको थुम्कोमा अवस्थित यो नगरी, जसलाई प्राचीन कालमा पद्मकाष्ठ गिरी भनिन्थ्यो, जहाँ कमलको फुल फुलेको यसमा स्वयम्भूको उत्पति भएको भन्ने आख्यान छ । यहाँ जिब्रो नभएको बाधको मुर्ति अंकित बाघ भैरवको विशाल मन्दिर चिलिचो बौद्ध विहार मुलुकको एक मात्र पुरानो त्रिभुवन विश्वविद्यालय समेत रहेको यो स्तल धार्मिक पर्यटकीय र महत्वपुर्ण प्राज्ञाक थलोको रुपमा लिइन्छ ।

१९. बालाजु, बाईसधारा , बालाजु

काठमाण्डौ शहरको पश्चिम उत्तर अवस्थित रमणिय यो उद्यानभित्र शेषशायी भगवान बालनारायणको मूर्ति भएकोले सोही नामबाट सो स्थानको नाम राखिए पनि पछि यो शब्द अपभ्रंश भै बालाजु भएको किंवदन्ती छ । यसै स्थलमा प्रताप मल्लले २१ वटा र रणबहादुर शाहले बनाएको एउटा ठूलो धारा सहित २२ धारा भएकोले पछि यसको नाम बाइसधारा भन्ने रह्यो। यहाँ चैत्रशुक्ल पूर्णिमा ( नेवारी भाषामा ल्हुती पुन्ही) दिन ठूलो मेला लाग्दछ ।

२०. शालिनदी, बज्रयोगिनी गा. वि.स.

पौराणिक कालमा महादेवले मानिसको रुप लिई चोला बदलिएको स्थल भन्ने एउटा किंवदन्ती छ भने, अर्को तिर लावण्य देश नजिक शाली नाम गरेको नदीमा राजा नवराजकी महारानी चन्द्रावती डुवेपछि नदी रोकिन गै स्वस्थानी माताको आरधाना गरी राजाले गाईको दुधले उक्त नदीमा अर्घ दिई पुन नदी बग्न थालेको हुँदा सपजओ समयदेखी शालीनदिमा स्वस्थानी ब्रत प्रारम्भ भएको धार्मिक आख्यान पाईन्छ । काठमाण्डौ शहरबाट पश्चिम उत्तर बज्र योगिनी र सुन्टोल गा. वि. स. लप विच भएर बग्ने पवित्र शालीनदीको आफ्नै धार्मिक महत्व छ । हिन्दु धर्मालम्बी नारीहरुले पुण्यप्राप्तिको लागि फागुण शुक्ल पुर्णिमाको दिन यसै नदीमा व्रतालुहरु भेला भै स्वस्थानी व्रतको सांग्य ( समापन) गर्ने र रानी चन्द्रावतीले पापाबाट मुक्त पाए झै हिन्दु नारीहरुमा समेत स्वास्थानीको व्रतबाट मुक्त प्राप्त हुने धार्मिक विश्वासको कारण यो नदी प्रसिद्ध रहन गएको छ ।

२१. श्लेमान्तक वन, पशुपति का. म. पा. ८

तीनथाना गा. वि. स. वडा नं. १ मा रहेको विष्णु देवी क्षेत्र यस गाविसको मात्र महत्वपुर्ण स्थल नभै यस भेगकै ऐतिहासिक थलो हो । धार्मिक हिसाबले सातौ पिठको रुपमा गनिने विष्णु देवी, सरस्वती तथा ईच्छावृषेश्वर महादेव (गोलोकेश्वर) १७ औ शताब्दितिर स्थापना भएको मानिन्छ । ०३८/३९ सालतिर महादेवस्थानको दक्षिणतिर रहेको दुवै हात र स्तनसमेत काटिएको सरस्वतीको पूर्णकदको मूर्ति चोरी हुँदा मूर्ति मूर्ति पछाडि रहेको शिलालेखमा उक्त मिति उल्लेख गरिएको भन्ने भनाई छ । चोरी भएको सरस्वतीको मूर्तिको दुई पाऊ अद्ययावधि नै छ, जहाँ २०४१ सालमा पूर्ण बहादुर महर्जनले अर्को सरस्वतीको मूर्ति बनाई स्तआपना गरेको पाईन्छ । विष्णु देवीको द्वारपालको रुपमा रहेका सिंह सिंहिनीको स्थापना रिजाल भन्ने थरका ब्यक्तिले वि.सं. १९०९ सालमा स्थापना गरेको शिलालेखमा पाईन्छ । सोही मन्दिरको पश्चिमतिर रहेको ढुंगाको खम्वामाथी प्राथना गरिरहेको मूर्ति सहितको खम्वा संवत १९१० मा स्थापना गरेको देखिन्छ । पाप धर्मको परीक्षण गर्ने वागद्वार पनि महादेवस्थानको उत्तरतर्फ रहेको छ । यस विष्णु देवी क्षेत्र पुरातात्विक महत्वको क्षेत्रभित्र समेत पर्ने भएको हुनाले यसको ञथार्थ खोजविन हुन आवश्यक देखिन्छ ।

२२. श्री विष्णुदेवी मन्दिर, तीनथाना गा.वि.स.

विष्णुदेवीको प्रतेक वर्षको मंसिर महिनाको दशमी तिथीमा सातगाऊ ( सतंगल, बोसी गाऊ, ल्वहको ट, मच्छे गाऊ र नैकाप र तीनथाना) को जात्रा हुन्छ । उक्त जात्रामा सतुंगल मच्छेगाऊ र नैकापबाट कलात्मक रथ र वोसिगाऊ र ल्वहको ट बाट भैरवरथ ( क्वं ध्य:) वाजागाजा सहित रातको वीचमा विष्णुदेवी आमाको थानमा त्याईन्छ ।

२०५५ सालमा रत्नबहादुर मानन्धरको अध्यक्षतामा गठित समितिले विष्णुदेवी मन्दिरको जिर्णोद्वार गरी कलात्मक शैलीमा मन्दिर निर्माण भएको छ । त्यस्तै उक्त स्थानमा श्रदालु भक्तजनहरुबाट पाटीपौवाको पनि निर्माण भई भजनकृतन आदी हुन्छ भने काठमाणडौं इन्द्रचोकका बजरंग प्रसाद अग्रवालले २०४७ सालमा बनाई दिएको आधुनिक भजनपाटीमा पनि नित्य विहान वेलुका भजन हुने भएको पाइन्छ ।

Top

 
 
     
View In English   होमपेज : ईमेल चेक
कुनै पनि लिंकहरु फेला परेन।
 
सूचनापाटी

जिविस - २०६६-०१-३१


६  वटा सुचना(हरु) उपलब्ध छन्।
अरु सूचनाहरु »    
© वि. सं. २०६५-२०६६ ॥ सर्वाधिकार सुरक्षित